२०८१ जेष्ठ ६

भारतीय स्थल सेनाध्यक्ष आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

असोज २८, काठमाडौं । सीमा विवादपछिको तनाव र कोरोना संकटका कारण रोकिएको भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमण तय भएको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार जनरल नरावणे यही कात्तिक १८ गते नेपाल भ्रमणमा आउने भएका छन्।

‘कोरोना संकटका कारण दुवै देशमा भएको लकडाउनका कारण स्थगित भारतका स्थल सेनाध्यक्ष जनरल नरावणेको नेपाल भ्रमण यही कात्तिक महिनामा हुने भएको छ’, सैनिक जनसम्पर्क निर्देशनालयले भनेको छ, ‘यस विषयमा नेपाल सरकार मन्त्रिपरिषद्ले २०७६ माघ २० मै आवश्यक निर्णय गरिसकेको छ।

भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नरावणेलाई नेपाली सेनाको मानार्थ महारथि दर्जा प्रदान गर्ने कार्यक्रम पनि तय भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

यस्तो छ कार्यतालिका

कोरोना संकट र सीमा विवादबीच उच्च तहको भ्रमण रोकिएका बेला भारतका २८ औं सेनाध्यक्ष नरवाणे कात्तिक १८ मा नेपाल भ्रमणमा आउने तय भएको हो। नरवाणे सेनाअध्यक्ष बेपछि नेपाल भ्रमणमा आएका छैनन्।

तीन दिने नेपाल भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ प्रधानसेनापतिको उपाधी ग्रहण गर्ने कार्यक्रम तय भएको छ।

त्यससँगै उनले प्रधानमन्त्री केपी शर्मा ओली,रक्षामन्त्री ईश्वर पोखरेल र समकक्षी पूर्णचन्द्र थापासँग समेत उनले भेटवार्ता गर्नेछन्। नरवाणे मुक्तिनाथ दर्शनमा पनि जाने कार्यक्रम रहेको छ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौड्यालले भारतीय सेनाध्यक्षको भ्रमण तयारी सुरु भएको बताए। भारतीय सेनाअध्यक्षको भ्रमण यसअघि तय भइसकेको थियो। तर नेपालबारे उनको विवादस्पद अभिव्यक्तिले रोकिएको थियो।

प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय सेनाको मानार्थ महारथिको उपाधि ग्रहण गरिसकेका छन् । तर, भारतीय सेनाअध्यक्षले पदभार ग्रहण गरेको एक वर्षभन्दा बढी भइसक्दा पनि नेपाली सेनाको मानार्थको उपाधि ग्रहण गर्न पाएका छैनन्।