२०८१ जेष्ठ ६

प्रदेश–२ ले पाएन स्थायी राजधानी

काठमाडौँ । सत्तारुढ दलका सांसदमा बदलाको भावना पलाउँदा प्रदेश–२ को स्थायी राजधानीको विषय टुंगो लगाउन प्रदेशसभा असफल बनेको छ ।
सत्तारुढ दल राजपा र समाजवादी पार्टीका बहुसंख्यक सदस्यले जनकपुरको विपक्षमा मतदान गरेपछि प्रदेश राजधानी टुंगो लगाउन प्रदेशसभा असफल भएको हो ।
मंगलबार अबेर राति सम्पन्न मतदानको नतिजाअनुसार जनकपुरको पक्ष÷विपक्षमा समान ५२ मत खसेको छ । यस्तै तीन मत बदर भएको छ । योसँगै प्रदेशसभाबाट स्थायी राजधानी टुंगो लगाउने प्रयास असफल भएको हो ।
यसअघि ४ वटा नामको प्रस्तावमा मतदान हुँदा कुनैपनि नाममा दुई तिहाइ नपुगेपछि प्रदेशको नाम टुंगो लगाउने प्रस्ताव पनि असफल भएको थियो ।
जनकपुरलाई स्थायी राजधानी बनाउने विषयमा सबै दलहरु एक ठाउँमा जस्तै रहेपनि पछि मधेस प्रदेश बनाउने सत्तारुढ दलको प्रस्तावमा काँग्रेस र नेकपाले समर्थन नगरेपछि सत्तारुढ दलका सांसद चिढिएका थिए ।
नामकरणमा सत्तारुढ दलका सांसदहरुको प्रस्ताव विफल भएपछि एकाएक उनीहरुमा बदलाको भाव पलाएर राजधानीको सवालमा विपक्षमा मतदान गर्न पुगेको बताइएको छ ।