२०८१ जेष्ठ ६

राष्ट्रिय सभामा टिकट पाउन पार्टीलाई अढाई करोड

काठमाडौँ । राष्ट्रिय सभाका लागि टिकट लिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उपाध्यक्ष शेखर सिंहले पार्टीलाई अढाई करोड रकम बुझाएको तथ्य सार्वजनिक भएको छ ।
सप्तरीका पूर्वसिडिओ एवम् रक्षा सचिव तिलकराम शर्मासँग सापटी लिएर पार्टीलाई सो रकम दिएको भन्ने उनको ‘अडियो टेप’ सार्वजनिक भएको छ । यो खबर रातो पाटी अनलाइनमा प्रकाशित भएको छ । पूर्व सचिव शर्माले अरुबाट सो रकम सापटी लिएर राजपा नेपाललाई बुझाएको फोन वार्ताबाट प्रष्ट हुन्छ ।
सार्वजनिक भएको फोन वार्तामा उनले भनेका छन्, ‘शेखर सिंहले भनेको आधारमा साथीबाट रकम लिएर पार्टीलाई दिएको हुँ तर अहिले सो रकम दिन शेखरले आनाकानी गरिरहनु भएको छ । जोसँग मैले रकम लिएर दिएको थिएँ, त्यो व्यक्ति मसँग मागिरहेका छन् ।’

आफू नराम्रासँग फसेको पनि उनले बताएका छन् । उनले भनेका छन, ‘मैले जहाँ कमिटमेन्ट गरेको थिएँ, त्यहाँ त दिनु पर्यो तर उहाँ (शेखर) अहिले फोन नै उठाउनु हुन्न ।’

त्यतिको मान्छे, माननीय भएर हिँड्ने व्यक्तिसँग के कागज गराउनु भनेर आफूले विश्वासमा रकम दिएको उनले बताएका छन् । लेनदेनमा एकजना साक्षीबाहेक अरु केही प्रमाण नरहेको पनि उनले बताए ।

रातोे पाटी अनलाइनबाट