२०८१ जेष्ठ ६

थप ११ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ३९० पुग्यो

विराटनगर, ६ जेठ । प्रदेश १ मा मंगलबार ११ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । झापाका ९ र सुनसरीका २ जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

झापाका ९ जनाको कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो । उनीहरुमा कोरोना संक्रमण देखिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले पुष्टि गर्नुभएको छ । संक्रमित झापा जिल्लाको केचनकवल गाउँपालिकाका हुन् । यसअघि सोमबार यहाँको एक युवकमा कोरोना पुष्टि भएको थियो । संक्रमण भएका युवकको टोलका ३३ जनाको कोशी अस्पतालमा परीक्षण गर्दा थप ९ जनामा पोजेटिभ देखिएको अस्पतालेले जनाएको छ ।
त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुईजनामा कोरोना पोजेटिभ देखिएको छ । प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले सोमबार राति १ बजे परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएको सार्वजनिक गर्नुभयो । कोरोना पोजेटिभ देखिनेहरुमा टहरीका १८ वर्षका युवक र अर्का व्यक्ति सशस्त्र प्रहरी कर्मचारी हुन् ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । सुनसरीमा मात्र कोरोना संक्रमितको संख्या तीन पुगेको छ भने प्रदेश १ मा संक्रमितको संख्या ५४ पुगेको छ ।
आजै मात्र कपिलवस्तुमा ४ जना संक्रमित थपिएका हुन्। उनीहरू जिल्लाको मायादेवी गाउँपालिकाका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ ।