२०८१ जेष्ठ ५

कोरोना संक्रमण बढ्दै गए फेरि कडा लकडाउन हुन सक्छ

नेपालमा काेराेना संक्रमण पछिल्लाे अवस्था तीव्र रुपमा बढ्दाे छ। विशेषगरी क्वारेन्टाइन र भारतबाट आएकामा मात्र सीमित रहेकाे संक्रमण विस्तारै समुदायस्तरमा फैलँदाे क्रममा छ। तर यही बेला लकडाउनकाे स्वरुप पनि सरकारले परिवर्तन गरी खुकुलाे बनाएकाे छ। जसका कारण संक्रमण झनै बढिरहेकाे छ। लकडाउन नै खुकुलाे भएकाले नेपालमा जोखिम बढेको विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) ले पनि बताउँदै आएको छ। नेपालमा संक्रमण बढिरहेका बेला यसलाई विश्‍व स्वास्थ्य संगठनले पनि नजिकबाट हेरिरहेको छ। विश्‍व स्वास्थ्य संगठनले कोरोनाबाट जोगिन सामाजिक तथा भौतिक दूरीमा जोड दिइरहेको छ। तर नेपालमा पछिल्लो समय यी दुवै कुराको उलंघन भइरहेको छ। त्यसकै कारण कोरोना समुदायस्तरमा पुगिसकेको छ। नेपालमा कोरोनाको फैलँदो क्रम र यसको जोखिमलाई लिएर डब्लुएचओका नेपाल प्रमुख डा. जोस भ्यान्डेलरसँग न्यूज एजेन्सी नेपालका प्रतिनिधिले गरेको कुराकानीको सम्पादित अंश :  

अहिले कोरोनाको कहरमा छौं हामी। विश्‍वको आँखाबाट नेपाललाई कसरी हेरिएको छ? कस्तो छ नेपालको अवस्था ? 

अहिले विश्वव्यापी दृष्टिकोणबाट हेर्दा युरोपमा कोरोनाको संक्रमणहरु घटिराखेको छ भने संयुक्तराज्य अमेरिकामा अझै बढिराखेको देखिएको छ। त्यसै गरेर अहिले अफ्रिकामा पनि संक्रमण विस्तारै बढ्दै गएको देखिराखेको छ। नेपालमा पनि बढ्दै गएको देखिएको छ। अहिले बढ्नुको कारण धेरै केसहरु पहिलाभन्दा रिपोर्टिङ भइराखेको छ। नेपालको केसमा एउटा विशेष कुरा के छ भने नेपालमा समुदाय स्तरको संक्रमण भन्दा पनि विदेशबाट फर्कने व्यक्तिहरुमा बढी संक्रमण देखिएको छ। त्यसैले अहिले हामीले देखिएका केसहरु क्वारेन्टाइनको स्थलहरूबाट बढी आएका छन्। विशेषगरी भारतबाट फर्किएका व्यक्तिहरुमा र अन्य देशबाट फर्केका व्यक्तिहरुमा देखिएको छ।

अब नेपालले विश्वलाई कसरी हेर्नुपर्छ ? अर्थात् नेपालले विश्वलाई कोरोनाबारे कसरी हेरिरहेको छ ? 

तपाईंले भनेजस्तै महामारीले कुनै पनि सीमा भन्दैन। यो विश्वव्यापी कुरा हो। कुनै पनि सीमाले यसलाई रोक्ने कुरा हुँदैन नेपाल पनि यो विश्वको परिवेशको एउटा हिस्सा हो भनेर त्यसरी हेर्न जरुरी छ। बाहिर देशबाट फर्किएका व्यक्तिमा संक्रमण देखिएको छ। यसबाट हामीले के बुझ्नुपर्छ भने कुनै न कुनै बखतमा यो रोग नेपाल आउनेवाला थियो र आउने नै वाला छ भन्ने चाहिं बुझ्न जरुरी छ। हामी यो विश्व परिवेशको एउटा हिस्सा हौं भनेर सोच्न जरुरी छ।

नेपालको बाँकी विश्वभन्दा अलिकति फरकजस्तो देख्यौँ जुन बेला हामीकहाँ थोरै संक्रमणहरु देखिएको थियो त्यो बेला हामीले लकडाउन ग¥यौं र हामीले झण्डै झण्डै ८० दिन पछाडि लकडाउन खोल्यौँ, तर अहिले संक्रमितको संख्या बढिरहेको छ। यसलाई प्राविधिक रुपमा कसरी हेर्न सकिन्छ ?

नेपालमा गरिएको जस्तो लकडाउनको उद्देश्य भनेको भाइरसलाई कम गर्ने भन्ने हो। लकडाउन गरेपछि मानिसहरु घरमै बस्छन्, ट्राफिक पनि हुँदैन र आवतजावत कम हुन्छ। त्यसले गर्दा भाइरसको संक्रमणको संख्या घट्छ भन्ने हो। नेपालले लकडाउनलाई एकदमै छिटो कार्यान्वयन गर्‍यो। मार्च महिनामा दोस्रो केस देखिनासाथ लकडाउन गर्‍यो र त्यसले नेपालमा अहिले समुदायस्तरको संक्रमण नदेखिएको हो। यसको एउटा आंशिक कारण पूर्णरुपमा नभए पनि आंशिक कारण लकडाउन हो भन्ने लाग्छ र त्यो अर्थमा लकडाउन नेपालको हकमा एकदमै प्रभावकारी भएको छ।  तर लकडाउन भन्नाले त्यसको जनस्वास्थ्यको पक्ष त एउटा भयो तर त्यो बाहेक अन्य पक्षहरू पनि हुन्छन्। जस्तै सामाजिक पक्ष, आर्थिक पक्ष किन भने लकडाउन लगाएपछि मानिसहरु आफ्नो काममा जान पाउँदैन र कमाइमा असर गर्छ। लकडाउनकाे  केही समयपछि कुनै पनि सरकारलाई एउटा दुविधा उनीहरुको सामु देखा पर्छ। त्यो भाइरसलाई नियन्त्रण गर्नलाई बढी जोड दिने कि अब अर्थतन्त्रलाई पनि सन्तुलन गर्ने भनेर। त्यसले गर्दा नेपालमा अहिले लकडाउन केही हदसम्म खुकुलो बनाइएको छ। यो हामीले अरु देशहरुमा पनि देखिराखेका छौं लकडाउन खुकुलो बनाउँदा एकैचोटि नगरेर स्टेप बाइ स्टेप चरणबद्ध रुपमा गरेको देखिएको छ र नेपालले पनि त्यसै गरिराखेको छ।  हामीले के कुरा पनि मनन गर्नुपर्छ भने यदि केसहरु फेरि बढ्दै गयो भने लकडाउन फेरि लाग्न पनि सक्छ। यो खुला नै गरिन्छ भन्ने चाहिं छैन। यो कुरा मनन गर्नुपर्छ।

हामीकहाँ देखिएको कोरोना संक्रमणमा लक्षणहरु देखिएनन्। कुनै संकेतहरु देखिएन। यसमा के छ डब्लुएचओ को अध्ययन ? कोरोना यहीँको स्थानीय भाइरस बनिसकेको हो?

तपाइँले भने जस्तै हो। नेपालमा अहिले लक्षणरहित केसहरु एकदम धेरै देखिएको छ। मान्छेहरूलाई स्वास्थ्य नै छुजस्तो भइराखेको छ। उनीहरुलाई केही पनि भएको छैन, तर कोरोनाको संक्रमण चाहिं भइराखेको भनिएको छ। यो हुनुको कारण एउटा के हो भने नेपालमा धेरैजसो केसहरु देखिएका छन ती सबै युवामा छ। कम उमेरका मानिसमा देखिरहेको छ। ती मानिस प्राय भारतमा काम गरिराखेका र भारतबाट फर्किएका व्यक्तिहरु हुन्। यसले गर्दा यसमा अचम्म मान्नुपर्ने कुरा छैन। किनभने कोरोना संक्रमण विशेष गरी युवाहरूमा एकदम कम लक्षण देखिने अथवा लक्षण नदेखिने हुन्छ। नेपालको हकमा हामीले अलि वृद्धवृद्धाहरुमा धेरै केसहरु देखिसकेका छैनौं र भोलि त्यो केसहरु धेरै देखियो भने फरक कुरा हुन्छ। नत्र भने अहिले यसको लागि अचम्म मान्नुपर्ने कुरा छैन।  नेपालमा नयाँ खाले भाइरसभन्दा पनि भाइरस उस्तै हो, यो हामीले देखेका संक्रमणका केसहरु फरक हुन्। हामीलाई यो भाइरस त्यसै कारण अनौठो होकि जस्तो लाग्न सक्छ, नयाँ हो कि जस्तो लाग्न सक्छ। तर यो भाइरस नयाँ भन्दा पनि हामीले जुन केसहरु देखिराखेका छौं त्यो चाहिं नयाँ हो।  विश्वव्यापी रुपमा पनि अहिले यो भाइरसको मूलभूत रुपमा परिवर्तन देखिएको छैन। त्यसैले यो त्यही नै भाइरस हो फरक भाइरस हो भनेर मान्नुपर्ने अहिले सम्म कुनै कारण कुनैपनि प्रमाण देखिएको छैन।

हामीले आरडिटी र पीसीआर परीक्षणबारे नै बुझ्न सकेनौँ। यहाँ जनमानसमा एउटा विवाद पनि छ। कतिपय अवस्थामा सरकारको पनि दोष देखिन्छ। डब्लुएचओ ले के भन्छ ?

आरडिटी र पीसीआर दुईवटा प्रयोगशालामा गरिने परीक्षणहरु हुन तर यिनीहरु फरक हुन्छन्। पिसिआरले तपाईंका शरीरमा भाइरस छ कि छैन ? तपाईं अहिले संक्रमित हुनुहुन्छ कि हुनुहुँदैन भनेर हेर्छ।  आरडिटीले शरीरमा एन्टीबडी छ कि छैन भनेर हेरिन्छ। एन्टीबडी भनेको त्यस्तो कुराहरु हो जुन शरीर आफैले निर्माण गर्ने कुरा हो र एन्टीबडी शरीरले कुनै भाइरससँग प्रतिरक्षा गर्न भाइरसँग जुध्न उत्पादन गर्ने एउटा चिज हो।  एन्टीबडीहरु पत्ता लाग्न सक्ने जतिको संख्यामा उत्पादन हुनको लागि १० देखि १४ दिन सम्म लाग्न सक्छ। त्यसले आरडिटीले व्यक्ति विगतमा कुनै समयमा त्यो भाइरसको संक्रमणमा आएको थियो अथवा कुनै बेला संक्रमित भएको थियो कि भन्ने कुरा जानकारी दिन्छ।  यसरी हेर्दा यी दुइटा फरक छन्। एकले अर्कोलाई प्रतिस्थापन गर्न मिल्दैन। पिसिआर हामीले प्रयोग गर्ने भनेको कुनै पनि व्यक्ति संक्रमित छ कि छैन र उसले अरुलाई संक्रमण सार्न सक्छ कि सक्दैन भनेर जाँच्न परीक्षण गर्छौं।  आरडिटी चाहिं विशेष गरी कुनै पनि समुदाय अथवा कुनै पनि वर्ग कुनै समयमा कुन अनुपातमा यो भाइरसको संक्रमण आएको थियो भन्ने कुरा जान्न गर्छौं।  तसर्थ पिसिआरले कुनै पनि व्यक्तिमा अहिले संक्रमण छ कि छैन र त्यो व्यक्तिले संक्रमण सार्न सक्छ कि सक्दैन भन्ने जाँच्छ भने आरडिटीले कुनै व्यक्ति अथवा कुनै समुदाय विगतमा कुनै विन्दुमा त्यो भाइरस संक्रमण थियो अथवा त्यो भाइरसको संक्रमणमा आएको थियो कि थिएन भन्ने कुरा जाँच्छ।

हामीले धेरै पिसिआर टेस्ट पनि गर्न सक्दनौं। क्वारेन्टाइनका व्यक्तिहरुलाई परीक्षण नगरिकन हामीले पठाउनुपर्ने हुनसक्छ। यसबारे विश्वव्यापी रुपमा डब्लुएचओको कुनै गाइडलाइन छ ? 

हामीले क्वारेन्टाइन गर्ने भनेको मानिसहरुलाई कम्तीमा १४ दिन छुट्टै राख्छौँ। ताकि त्यो व्यक्तिमा यदि भाइरस भएकै भए पनि १४ दिनसम्म भाइरस मरिसक्छ त्यसले उक्त व्यक्तिले अरु कसैलाई त्यो संक्रमण सार्न सक्दैन।  व्यक्ति पनि निको भइसकेको हुन्छ। तसर्थ हामीले यदि लामो समयसम्म कुनै पनि व्यक्तिलाई छुट्टै राख्न सकियो भने उसलाई परीक्षण नगरिकन समुदायमा अथवा घरमा पठाउँदा पनि भाइरस संक्रमण हुने सम्भावना रहँदैन। किनभने उक्त व्यक्ति पहिले नै निको भइसकेको हुन्छ।  तसर्थ हामीले यदि क्वारेन्टाइन राम्रोसँग गर्न सक्यौं भने टेस्ट नगर्दा पनि फरक पर्दैन। तर क्वारेन्टाइन कसरी राम्रोसँग गर्ने भन्नेमा हामीसँग दुई वटा उपायहरु छन्। एउटा सबै मान्छेहरूलाई एकैठाउँमा लिएर आउने सम्भावित व्यक्तिलाई र उनीहरुलाई त्यो ठाउँमा निश्चित समयको लागि राख्ने।  अर्को उपाय भनेको घरमै पनि कुनै पनि व्यक्तिलाई क्वारेन्टाइनमा राख्न सकिन्छ। तर घरमा राख्दा एउटा जोखिम चाहिं के हुन्छ भने यदि उक्त व्यक्तिमा भाइरस रहेछ भने उसले परिवारको अन्य सदस्यलाई सारेको नसारेको सुनिश्चित गर्नुपर्ने हुन्छ।  तसर्थ परिवारका अन्य सदस्यहरु भन्दा दूरी अलिकति कायम गर्ने, छुट्टै कोठामा बस्ने, छुट्टै शौचालय प्रयोग गर्नेलगायत सुविधाहरु हामीले सुनिश्चित गर्नुपर्ने हुन्छ। त्यसैगरी क्वारेन्टाइनमा संक्रमण भएको हुनसक्ने सम्भावित व्यक्तिलाई हामीले अन्य व्यक्तिहरुबाट छुट्टै राख्ने हो। तर क्वारेन्टाइनमै भएका पनि कोहीमा संक्रमण देखियो भने उक्त व्यक्तिलाई आइसोलेसनमा लगेर छुट्टै राख्नुपर्छ एकान्तबासमा लगेर राख्नुपर्छ।  त्यसले हामीले क्वारेन्टाइन प्रयाप्त समयसम्म कायम राख्न सक्यौं भने भाइरस सर्ने जोखिमबाट हामी बाच्न सक्छौं त्यसलाई रोकथाम गर्न सक्छौं।

# थाहा खबरबाट