२०८१ बैशाख २३

‘एसईई’को नतिजा साउनसम्म, यस्ता विद्यार्थीले पाउनेछन् धेरै अंक

काठमाडौं, ११ असार । शैक्षिक सत्र २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीले साउन मसान्तसम्म आफ्नो अन्तिम नतिजा प्राप्त गर्नसक्ने भएका छन् । कक्षा १० का विद्यार्थीको मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारीसँगै विद्यार्थीको मूल्याङ्कन गर्ने आधार तय भएपछि विद्यार्थीले अब साउनभित्रै आफ्नो नतिजा प्राप्त गर्ने अवस्था बनेको हो ।

साउन १५ भित्र बोर्डले अन्तिम नतिजा प्रकाशित गर्ने जानकारी दिँदै साउनभित्रै ग्रेडसिट विद्यार्थीको हातमा पर्ने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए । खकुरेलका अनुसार कोरोना भाइरसको सङ्क्रमण भयावह भएको अवस्थामा बाहेक साउनभित्रै सबै काम सक्ने योजना बनाइएको छ ।

यद्यपि नतिजा प्रकाशनपछि चार लाख ८३ हजार विद्यार्थीको ग्रेडसिट र प्रमाणपत्र प्रिन्ट गर्न, परीक्षा नियन्त्रकको हस्ताक्षर तथा छाप लगाउने कार्यका लागि भने ही दिन लाग्ने अनुमान गरिएको छ ।

सम्बन्धित विद्यालयका प्रधानाध्यापक, विषय शिक्षक र माध्यमिक तहको सबैभन्दा ज्येष्ठ शिक्षक (सदस्य) रहने गरी कार्यविधि बनायएको छ । विद्यालयले आफूले सञ्चालन गरेको पहिलो त्रैमासिक परीक्षाको नतिजाका आधारमा १० प्रतिशत, दोस्रो त्रैमासिक परीक्षाका आधारमा ३० प्रतिशत र अन्तिम परीक्षाको ६० प्रतिशत अङ्क जोडेर विद्यार्थीको ग्रेड निर्धारण गर्ने कार्यविधि तय गरिएको छ । सरकारले बनाएको नीतिमा अन्तिम परीक्षालाई सबैभन्दा धेरै अङ्क दिने भनिएको छ ।

विद्यालयले विद्यार्थीको अन्तिम मूल्याङ्कन गरेपछि जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमार्फत् राष्ट्रिय परीक्षा बोर्डमा पठाउने जिम्मेवारी दिइएको छ । समन्वय एकाइलाई जिल्लाका सबै विद्यालयको अभिलेख सङ्कलन गरी असार ३० भित्र सबै सामग्री बोर्डमा पठाउने समय दिइएको राष्ट्रिय परीक्षा बोर्डले बताएको छ ।