२०८१ जेष्ठ ६

ख्याउटिएका जनअपेक्षाहरु।

 

– उमेश बन्जाडे
प्रधान सेनापित र पशुपतिका पुजारी काण्डको फेरो समाएर उतिबेला एमाले र कांग्रेसले तत्कालीन शक्तिशाली माओवादीलाई थला पारे । युद्ध भूमिको जंगि स्वभाव सहित सबैलाई उछिट्याउने दाउ सहित जुँगाको ताउ मिलाएर सत्तामा पुगेका प्रचण्डले केही गर्ने छाँट त देखाएकै हुन्, तर उनको आवेग र झोकले मात्रै केही गरेन। देश तोड्छु भन्नेहरू र देश जोड्छु भन्नेहरू मिले । राजा ल्याउँछु भन्नेहरू र राजा फ्याँक्नेहरू पनि मिलेकै थिए । संविधान बनाउनेहरू र त्यही संविधान च्यात्नेहरू पनि मिले । तर यो देशबाट हराएको सुशासन र समृद्धि भन्नेकुरो प्रधानमन्त्री र मन्त्रीका ओठमा मात्रै भेटियो । आउँदा निर्वाचनका प्रतिबद्धताहरुमा देश बनाउने होइन, नेता बन्ने पंक्तिलाई केन्द्रविन्दुमा राखौं ।‘कमाउ र राजगरुको सिद्धान्तलाई निधारमा टाँसेर विकास र निकासका बुँदाहरु पुछारमा झुण्ड्याउँ। आखिर हुँदै आएको र भइरहेको यही त हो ।

सामान्य वडा सांसद (वडा सदस्यहरु) को निर्वाचन पश्चातको रहनसहन देखेर समाजले जिब्रो टोक्छ भने प्रदेश र प्रतिनिधि सभाका सांसदको के कुरो । गाउँ गाउँमा सिंहदरबारको घण्टी बजाएर ल्याइएको स्थानीय सरकारले मैमत्त भएर रजाइँ गरेको छ। ऊ आफै ठेक्कापट्टा, टेण्डर र कमिसनमा मस्त छ भने, गाउँहरु दलालको कर्मकाण्डले ऐठन पार्दा मुर्झाएर घुँडा टेकेका छन् । दलाल तथा नोकरशाही व्यवस्थाका विरुद्ध जंग लडेर सत्तामा पुगेका कामरेडहरुको असलियतका बारेमा यी अक्षर पढिरहेका तपाइँ नै बर्ता जानकार हुनुहुन्छ ।

चप्पल पड्काएर सिंहदरबार पुगेका होउन् वा गोल्डस्टार जुत्ताका जुम्रा कन्याउँदै काठमाडौं कुल्चिएका । यिनीहरु जहिल्यै तनावै तनावमा भेटिन्छन् । न यिनीहरुको काम भेटिन्छ, न त कहिल्यै फुर्सद देखिन्छ । सधैं आफ्नो सानमान र सम्मानको अपेक्षा राख्ने सत्ता लिप्साका सेठहरु देश बनाउने चिन्तनमा नभएर भाग नपुग्ने चिन्ताको चितामा डढिरहेका हुन्छन् ।

हिजो आमूल परिवर्तनका लागि भन्दै पोखिएको रगतको अवमूल्यन गर्दै ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचना पिपल फेँदीमा जल चढाएर प्राप्त भएको व्यवस्था’ ठान्दछन भने यो व्यवस्थालाई कसरी जनताको व्यवस्था भन्नू ? राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने साधानहरु पूरानै व्यवस्थाको हितमा काम गरिरहेका छन् ।

नेपालमा राजनीतिक परिवर्तन पटक–पटक भएपनि राज्यका मेसिनरीमा कहिलै परिवर्तन भएन । उनीहरु न जनताको नियन्त्रणमा छन् न त जनताको सेवकको रुपमा काम गरिरहेका छन्, न जनताप्रति जवाफदेहीता नै छ । बरु उनीहरु निर्धक्क पीडक र शासकको रुपमा काम गरिहेका छन् ।

प्रायः जनमानस सरकारी रवैया देखेर वाक्क छन् । चोक र गल्लिहरुमा निरन्तर सरकारले गरेका एकपछि अर्को गलत कदमका विरुद्ध चर्को आलोचना भइरहेको छ। यद्यपि प्रधानमन्त्री भन्छन् – ‘यो सरकार र एमाले पार्टी झनै लोकप्रिय भएको छ।’ कयौं पटक उनले जानाजान गरेका कमजोरी देखेर लोक लज्जित छ। तर उनलाई फिटिक्कै पश्चाताप छैन । दिनै नबिराइ मोबाईल र टेलिभिजनका स्क्रिनमा झनै जंगीएर विपक्षी प्रती शब्दबाँंण हान्छ्न। र आफ्नो समृद्धिको अध्याय वाचन गर्न थाल्छन् । खै यो कुन बारीको कस्तो लोकप्रियता हो ?

जो बोकिएर माथि उक्लिन्छ, उसले यथार्थ धरातल बिर्सिन्छ । र, भ्रमवश ऊ ठान्छ– म जहाँ र जत्रो छु, यो मेरो वास्तविक उचाइ हो । उता अहिलेको सत्ता ठिक त्यही भ्रमको गुमराहमा बेसुर बनेर नाँचिरहेको छ। यता आम जन अपेक्षाहरु उखान टुक्काको परिबन्ध भित्रै ख्याउटिएका छन् ।

दरबार भित्र बेग्लै खिचडी पकाउने र बाहिर निस्किए पछि जनतालाई अर्कै चखाउने छेपारे प्रवृत्तिले दशकौंदेखि देशलाई पिरोलि रहेको छ। पुस्तौंदेखि परिवर्तनका लागि भनेर तातो सडकमा खाली खुट्टा दौडिएका भुइँमान्छेहरु पिँधमै खुम्चिएर जिउन बाध्यछन् । बाढी पहिरोबाट वर्षेनि कयौं मानव जीवन खोलामा बगेका छन्। घरबार बिहिन भएका छन् । यता सरकार भने त्यसको समाधानको साटो खोलामा डोंजर जोताउँदै बालुवाटारको मझेरीमा ताली बजाएर बसेको छ। प्रत्येक पल्ट आफ्नै दुनो सोझ्याउन सत्तामा जाने शासकहरुले बारम्बार देश उँधोगति तर्फ धकेली रहेकाछन् । जब शासकहरु सत्ताको घोंडामाथी उक्लिएर घमण्डले उन्मत्त हुँदै जनअधिकार कुल्चिन थाल्छन् – उनिहरु आँखामा लगाम लगाउँछन् । आफ्नो पेरिफेरि भन्दा टाढा सामान्य नजरअन्दाज समेत गर्न सक्दैनन् ।

यद्यपि हामिसँग इतिहास साक्षी छ। जब जनता जागे भने दुनियाँका कुनैपनी शक्तिको जोर चल्दैन। जुन जनताको काँधमा चढेर सत्ताको चुलिमा पुगेका छौ, उनै जनताले भित्तामा पुर्‍याउन सक्छन् । तसर्थ अझैपनी धूर्त फ्याउराहरुले यदकदा खरायो जस्तै अभिनय गर्दैमा अब जनताले पत्याउन गाह्रो छ।