२०८१ बैशाख २३

देश र जनतालाई केन्द्रमा राखेर काम गरौं: भुपनारायण घर्तीमगर

पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ४, सुलिचौरका समजसेवीहरु मिलेर नितान्त गैर-राजनैतिक एवं गैर-नाफामूलक सामाजिक संस्थाको रुपमा स्थापना भएको परिवर्तनका लागि साझा प्रयास समूहले परिवर्तन आफैबाट शुरू गर्नु पर्छ र परिवर्तनको यात्रा आफ्नै आँगनीबाट शुरू हुन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै समाज र जनताको सेवामा समर्पित हुँदै आइरहेको छ । प्रस्तुत छ, स्थापनाको छोटो समयमै थुप्रै सामाजिक कार्य गरेको यो समूहका संयोजक भुपनारायण घर्तीमगरसँग गरेको कुराकानीको सम्पादित अंश ।

१. तपाईंलाई अनलाइन बाटोमा हार्दिक स्वागत छ !
● धन्यवाद!

२. अचेल के काममा बेस्त हुनुहुन्छ ?
● गाउँघरमा भेटघाट अनि परिवर्तनका  लागि साझा प्रयास समूह मार्फत समूहका साथीहरू तथा अन्य सहयोगी मनहरूसँग हातेमालो गर्दै  सामाजिक कार्यमा लागिरहेको छु।

३. यो साझा प्रयास समूह कस्तो खालको समूह हो ? यसले के कस्ता कार्यहरु गर्छ ? कार्यक्षेत्र कुन-कुन ठाउँ रहेको छ ?
● यो परिवर्तनका लागि साझा प्रयास समूह नितान्त गैर-राजनैतिक एवं गैर-नाफामूलक सामाजिक संस्था/समूह हो।
यसले परिवर्तन आफैबाट शुरू गर्नु पर्छ र परिवर्तनको यात्रा आफ्नै आँगनीबाट शुरू हुन्छ भन्ने मान्यता राख्दछ।
यसको कार्य क्षेत्र तपाईं हाम्रो  समाज हो । यही समाजमा देखिएका तमाम विकृति विसंगतिहरू बिरूद्ध आवाज  उठाउँदै र कार्य गर्दै समाजमा सकारात्मक एवं श्रृजनशिल परिवर्तनका लागि सक्दो प्रयास गर्नु हो। यसका निम्ति हामी सबैसँग समन्वय गर्दै सद्भावका साथ अगाडी बढ्छौं।

४. साझा प्रयास समूहले अहिलेसम्म के-कस्ता समाजिक तथा मानवीय कार्यहरु गर्‍यो ?
● अहिलेसम्म यो संस्थाले स्वास्थ्य केन्द्र सरसफाई, खानेपानी सरसफाई तथा मर्मत, रोल्पामा अक्सिजनको आपूर्ति,अति आवश्यक दिब्याङ्ग दलित जनजातिहरूलाई खाद्यान्न तथा दाल नुन तेल वितरण,असहाय तथा बेवारिसेहरूलाई उद्धार तथा संस्थाहरू मार्फत लालन-पालन बसोबासको व्यवस्था,विरूवा वितरण, सरसफाई र सार्वजनिक शौचलयको मर्मत सम्भार जस्ता कार्यहरू गरेको छ।

५. यति धेरै सामाजिक तथा मानवीय कार्यहरु गर्नुभएको छ । यसमा स्थानीय सरकार, राजनीतिक दल लगायत अन्य सरोकारवालाहरुको सहयोग कस्तो पाउनुभयो ?
● हामीले ज जसलाई सहयोग माग्यौं या समन्वय गर्यौं, उहाँहरूबाट सद्भाव पूर्ण व्यवहार पाएका छौं।उहाँहरू सबैलाई हार्दिक धन्यवाद छ।भविष्यमा पनि सबैसँग समन्वय गरेर काम गर्ने छौं।

६.  तपाईंहरुले आर्थिक सहयोग पनि धेरै उठाउनु भएको छ भन्ने सुनिन्छ । अहिलेसम्म कति सहयोग उठाउनुभयो ? कति खर्च भए कति बाँकी छ ?
●  हामी आफुहरूले पनि चन्दा सहयोग गरेका छौं। साथसाथै परदेशमा बस्ने हाम्रा परिवारका सदस्यहरू, साथीहरू र हितैषीहरू मार्फत पनि  सहयोग पायौं । यो सहयोग हाम्रो या हामीले भन्दा पनि परदेशमा बस्नु हुने रोल्पालीहरूको समूह रोल्पाका लागि रोल्पालीको आव्हानमा हामीलाई प्राप्त भएको  हो। हामी रोल्पाका लागि रोल्पालीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। सहयोगका निम्ति हामी कृतज्ञ छौं। सबै सहयोगी मनहरूलाई कोटी-कोटी नमन् अनि आभार प्रकट गर्दछौं । उठेका र खर्च भएका रकमको सबै हिसाब किताब गत श्रावण ९ गते हाम्रो समूहको प्रथम साक्षात्कार कार्यक्रम मार्फत सार्वजनिक गरेका छौं। सबै विवरण  फेसबुक तथा मिडिया मार्फत  लाईभ तथा रोल्पाका पत्रकार मित्रहरूको गरिमामय उपस्थितिमा सार्वजनिक गरेका हौं। उक्त दिनसम्मको जम्मा सहयोग राशी रू• १३,७६,०४५•७८ र जम्मा खर्च हुन बाँकी बचत  राशी रू• ९,९५,५५०•९३ हो। तत्पश्चात पनि अरू कार्यहरू भएका छन् र केही सहयोग पनि सहयोगी मनहरूले पठाउनु भएको छ। हामी निकट भविष्यमा फेरि सबै हिसाब सार्वजनिक गर्ने छौं।

७. सहयोगको विषयमा एक पटक जिल्ला प्रशासन कार्यालय रोल्पाले पनि जथाभावी सहयोग नउठाउन भन्ने विज्ञप्ति मार्फत सूचना नै सार्वजनिक गरेको थियो तर तपाईंहरु भने त्यस सूचनालाई कुनै प्रवाह गर्नुभएन नि । त्यस सूचनालाई कसरी लिनुभएको छ ?
● हामीले जथाभावी तवरले सहयोग उठाएका छैनौं र त्यस्तो मान्यता पनि राख्दैनौं। हामीले आफ्नो खल्तिबाट, विदेशमा बसेका आफ्ना परिवारका सदस्यहरूबाट, विदेशमा बस्ने आफ्ना साथीभाईहरूबाट सहयोग पाएका छौं। अझै स्पष्ट पार्नु पर्दा सहयोग हामीले उठाएको या हाम्रो अनुरोधमा उठेको होईन। सहयोग त रोल्पाको लागि रोल्पालीको आव्हानमा हामीलाई पठाईएको हो । परदेश बसेर घरदेशको सरोकार राख्ने रोल्पालीहरूको समूह हो, रोल्पाको लागि रोल्पाली। उठेका रकम मानवीय सेवामा लगाएका छौं। आम्दानी खर्चको एक एक हिसाब बिल भर्पाई सहित सार्वजनिक गरेका छौं।
जहाँसम्म सूचनाको सवाल छ, हामी सरकारी नीति नीयमको सम्मान गर्छौं। जथाभावी नगरेर पालन गरेका छौं। अक्सिजन आपूर्ति र ओडारमा बसिरहनु भएका बेसाहराको उद्धार जस्ता  पवित्र कार्य जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर गरेका छौं । भविष्यमा पनि सबै तह र निकायहरूसँग समनवय गरेर कार्य गर्ने छौं। नीति नीयमको सम्मान र पालना गरेर असल नागरिकको दायित्व निर्वाह गर्ने छौं । समन्वय,सद्भाव र सहयोगका निम्ति सबैप्रति आभारी छौं।

८. अब थोरै प्रसंग बदलौं, तपाईं त पहिले सक्रिय राजनीति गरेको मान्छे । वर्तमान नेपालको राजनीतिलाई कसरी नियाल्नु भएको छ ?
● राजनीति आफैमा मूल नीति हो। सबै नीतिहरू तथा समग्र समाजलाई नेतृत्व गर्दै सकारात्मक र श्रृजनशिल परिवर्तन गर्ने नीति हो। तर आज राजनीति समग्रमा सेवा होईन व्यवसाय बनेको छ। तर यस भित्र केही आशालाग्दा र राम्रा सम्भावना बोकेका  व्यक्तित्वहरू पनि छन् ।

९. किन यस्तो भैरहेको होला ? यी समस्याहरुको समाधान गर्न के गर्नु पर्ला ?
● मूल कुरा विचार व्यवहारमा उत्रेन । पात्रको प्रवृति ठीक भएन । सेवाको ठाउँ स्वार्थले लियो।
समाधान या सुधारका निम्ति विचार व्यवहारमा उत्रनु पर्यो । पात्रहरूको प्रवृति सुध्रनु पर्यो । राजनीति वास्तविक रूपमा सेवा बन्नु पर्यो ।

१०. अब तपाईं राजनीतिमा फर्कने सम्भावना के छ ?  राजनीतिमा फर्कनु  भयो भने कुन खालको राजनीति गर्नुहुन्छ ? 
● तत्काललाई मेरो कुनै राजनैतिक सोच र योजना छैन । समयले कुनै दिन त्यो बाटो लगेछ भने, आस्था, निष्ठा, सेवा, समाज, नेपाली पन र मन अनि नेपाल खाले राजनीति हुनेछ मेरो। अबको मेरो एक मात्र उद्देश्य र लक्ष्य देश ,समाज र जनता हुने छन् । सबैसँग मेरो मित्रता हुनेछ । तर समाजका विकृति, विसंगति, अन्याय, अविकसितता, पछौटेपनहरूसँग मेरो विरोध र दुश्मनी हुनेछ । म यिनका विरूद्ध सकारात्मक मनहरूसँग हातेमालो गरेर लड्ने सक्दो प्रयास गर्ने छु ।

११. अहिले साझा समूह मार्फत् सामाजिक काम गरिराख्नु भएको छ । यसलाई राजनीतिको लागि आधार निर्माण गरिरहेको भन्नेहरु पनि थुप्रै छन् । यो बुझाईलाई के भन्न चाहनुहुन्छ ?
● होईन होईन यो नितान्त गलत सोच र हल्ला मात्र हो। हामीले गरेको नितान्त सामाजिक कार्य हो । यसमा  सबै विचारका साथीहरू हुनुहुन्छ । राजनीति गर्नलाई त्यति साह्रो नाटक गर्न जरूरी छैन । म यही गाउँ समाज र देशको छोरा हुँ । राजनीति गर्ने नै हो भने झोला बोक्यो अनि शुरू गर्यो । राजनीति गर्नलाई के को छेकबार छ र ?  यी कार्यहरू त नितान्त सामाजिक भावले ओतप्रोत भएर गरेको हो। राजनीति मार्फत व्यक्तिगत आकांक्षा पुरा गर्ने कुनै अपवित्र सोच छैन।जति सकिन्छ सबैसँग मिलेर समाजका निम्ति केही गर्ने सोच मात्र हो। सबै सद्भावी र सहयोगी मनहरूप्रति म कृतज्ञ छु।

१२. तपाईं लामो समयसम्म अमेरिका बस्नुभयो । अहिले तपाईंको स्वदेश आगमनले तपाईंलाई मन पराउने व्यक्तिहरु खुशी भएका पनि छन् । उनीहरुले तपाईंलाई राजनीतिको बारेमा के भनेका छैनन् ?
● हो मैले गाउँ देश फर्केर धेरै मायाँ सद्भाव पाएको छु । राजनीतिका कुरा भन्दा पनि अब तपाई गाउँमै बस्नुस भन्नुहुन्छ ईष्ट-मित्रहरू ।

१३. अब फेरि अमेरिका जानुहुन्छ कि यतै समजसेवा गरेर बस्नुहुन्छ ?
● म अब बढी समय गाउँघर र देशमै बिताउने योजनामा छु ।काम विशेषले विदेश गईएला तर उद्देश्य देशमै कर्म गर्ने हुनेछ ।

१४. अन्त्यमा मैले भन्न छुटाएको र हजुरले भन्न मन लागेका केही छन् ?
● गाउँघर, समाज र देश बने हामी सबै बन्छौं । अन्यथा सबै बिग्रने छौं । सबै आ-आफ्नो ठाउँबाट ईमानदारी पूर्वक गाउँघर, समाज र देशका निम्ति सक्दो योगदान गर्ने प्रयास गरौं । देश र जनतालाई केन्द्रमा राखेर काम गरौं । समाजका निम्ति के गर्न सकिन्छ भनेर सोचौं । अनेकतामा एकता बनाउँदै गाउँघर, समाज र देशका निम्ति काम गरी सद्भाव पूर्ण, श्रृजनशिल र समृद्ध समाजको निर्माण तर्फ लागौं । देश भनेको भूगोल मात्र होईन । हाम्रा संस्कार, संस्कृति, रीतिरिवाज, परम्परा, रहन-सहन, भेष, भूषा, भाषा पनि हाम्रा धरोहर र पहिचान हुन । सबै मिलेर यिनको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गरौं । नेपाल भनौं, नेपाली बनौं । धन्यवाद !
(प्रस्तुति: दीपेश विष्ट