२०८१ जेष्ठ ५

संकटमा जनता, प्रचारबाजीमा नेता

महामारी संकटका समयमा विभिन्न समूह, नेता र व्यक्तिले राजनीति सुरु गरेका छन् । पूर्वमन्त्री, पूर्वसभामुख, विभिन्न दलका नेतालगायतले स्रोत नखुलाएर विभिन्न स्वास्थ्य सामग्री जिल्ला ल्याएको वा पठाएको दाबी गर्न थालेपछि बिबादमा तानिने गरेका हुन् । नियमित विधि र प्रक्रियाबाट हुनैपर्ने र भएका काममा समेत राजनीतिक फाइदाका लागि गरिने प्रचारबाजीले राज्यलाई हेर्ने आम नागरिकको दृष्टिकोण फरक हुने गर्दछ । संकटका समयमा गरिने चुनाव लक्षित सहयोगले कहिल्यै जनजीवीकामा परिवर्तन ल्याउन सक्दैन भन्ने जानकारहरूको बुझाइ छ ।

पटकपटक सत्ताको दैलोभित्र राज गरेका पूर्वमन्त्री वर्षमान पुन र उनकी पत्नी पूर्वसभामुख ओनसरी घर्तीले रोल्पाका विभिन्न स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरेका छन् । सोही अवसरमा बोल्दै पुनले सरकारले कोराना नियन्त्रणमा चासो नदिएको आरोप लगाए । दलबल र प्रहरीको गतिलो स्कटिङका साथ जिल्लाका विभिन्न गाउँमा सामग्री बाँड्दै हिँडेका पुन दम्पत्तीले जस्तै यहाँका विभिन्न व्यक्ति तथा समूहले पनि स्वास्थ्य सामग्री वितरण गरिरहेका छन् ।

शनिबार दिउँसो रोल्पा अस्पताल परिसरमा माओवादी रोल्पा अध्यक्ष सुरेन्द्र थापा घर्तीले औपचारिक कार्यक्रमका साथ भाषणसहित अस्पताल, नगरपालिका, पत्रकार, प्रहरी, सिडिओलगायतलाई मास्क, सेनिटाईजर, क्यालेन्डरलगायतका सामग्री वितरण गरे । यसबाहेक पनि उनले विभिन्न स्थानीय तहमा स्वास्थ्य सामग्री दिएका छन् । पूर्वसभामुख घर्ती र प्राय मन्त्री मण्डलमा बसेका पुनले पटकपटकजिल्लामा व्यक्तिगत पहलमा स्वास्थ्य सामग्री पठाउने गरेका छन् ।

त्यस्तै बेलाबेलामा कांग्रेस जिल्ला सभापति अमर सिंह पुन, नेवि संघका पूर्व महामन्त्री मनोजमणि आचार्यलगायतले पनि स्वास्थ्य सामग्री वितरण गरेर प्रचारबाजी गर्दै आएका छन् । उनीहरूको भनाइ पनि माओवादी नेताको जस्तै छ । राज्यले केही नगरेपछि आफूहरूले सकेको सहयोग गरेको उनीहरू बताउँछन् । त्यसो त सत्ताधारी दल एमाले रोल्पाका नेता कुमार दसौदीले प्रदेशमा आफूले समन्वय गरेर आफ्नो पहलमा अस्पतालमा ठूलै क्रान्ति गर्न थालेको दाबीसहित सामाजिक सञ्जालमा तस्बिर पोष्ट गरेका छन् । माओवादी र कांग्रेस नेतालाई जस्तै एमालेका जिल्लास्तरीय नेता पनि संकटका समयमा आफूले केही गरेको देखाउन तछाडमछाड गरिरहेका छन् । यी सबै सहयोगदाताले आफूनिकट विभिन्न सञ्चार माध्यममा प्रचारबाजी पनि गतिलै गरेका छन् ।

यी नेताहरूले जस्तै जिल्लामा विभिन्न समूह तथा व्यक्तिहरूले पनि लाखाैं रुपैयाँ बराबरको सहयोग गरिरहेका छन् । महामारीमा राज्य निकम्मा भए पछि देखिने यस्ता हर्कतहरू अधिकतम राजनीति केन्द्रित हुन थालेपछि जनस्तरमा गुनासो आउने गर्दछ । ‘सरकार सत्ता जोगाउन र गिराउन मात्र व्यस्त रहेकाले जनता बचाउनु पर्छ भन्ने मान्यताका साथ आफूहरूले समन्वय गरेर केही स्वास्थ्य सामग्री रोल्पा पठाएको नेवि संघका पूर्वकेन्द्रीय महामन्त्री मनोजमणि आचार्यले बताए । त्यस्तै रोल्पा माओवादी अध्यक्ष सुरेन्द्र थापा घर्ती पनि तीन तहका सरकारले गर्नुपर्ने काम नगरेपछि सरकार बाहिरबाट पनि जन सहयोग गर्नुपर्ने बताउछन् । उनी भन्छन्, ‘उहाँ पूर्वमन्त्री मात्र नभएर वर्तमान सांसद पनि भएकाले जनताको ख्याल राख्नु स्वभाविक हो र कर्तव्य पनि हो ।’

नेता, मन्त्री, सभामुखले जिल्लाका विभिन्न क्षेत्रमा नियमित आउनै पर्ने आएको बजेट आफूले ल्याएको दाबी गर्ने चलन विगतदेखि नै चलिआएको छ । जनता र मतदातालाई भ्रममा पार्नेगरी समयसमयमा गरिने गलत प्रचारबाजीले स्थानीयस्तरमा दीर्घकालीन राजनितिक स्थायित्व नहुने सत्तापक्षीय नेकपाका जिल्लास्तरीय नेताको भनाइ छ । उनी भन्छन्, ‘राज्य सञ्चालन गर्न भन्दै पदमा पुग्नेहरूको जिम्मेवारी र कर्तव्य नै काम गर्नु हो ।’

राज्य सञ्चालन विधिमा नचलेपछि राजनीति गर्नेहरूले स्वार्थसिद्धिका विभिन्न उपाय अपनाउने गर्दछन् । संघ र प्रदेशको स्वास्थ्य मन्त्रालय, विभाग हुदै विभिन्न अस्पताल, स्थानीय तहहरूमा आवश्यकताअनुसार समयमा पुग्नुपर्ने सामग्री पुर्‍याउन नसकेपछि भोटको राजनीति सुरु हुने गरेको हो । यतिबेला रोल्पालगायतका विभिन्न जिल्लामा हरेक दलका नेताहरूले भोटको खेती गरिरहेका छन् ।