२०८१ जेष्ठ ६

प्रेम र सपना–––––––––––––––..

तिम्रै निम्ति स्वागत कुरिरहेको आँगन र फूल
अचेल मौनताको खोल ओढिरहेछ ।
सम्बन्धले प्रेम विरुद्धको गित गाइरहदा
तिम्रो मस्तिष्कले बजाइरहन्छ शान्तिको ढोल ।
मोबाइलको डिस्प्लेबाट तिम्रो तस्बिर हटाए
ढलमा फोहोर फालेझैँ फालिदिए ग्यालरीबाट तस्बिर
थिचिदिए डिलिटमा तिम्रो नम्बर
तर स्वर्णिम भएन तिमीले दाग लगाएर हिडेको मुटु ।

फौजीले पृथक पृथक जमिन इशारा दिए झैँ
दियो समयले खतरानाक अनुरागी इशारा
जहाँ भुइचालो आयो जिन्दगीमा
र तहसनहस बनायो प्रेमको अग्लो गृह
मात्र उभाइदियो सम्झनाको नक्कली प्रमाण ।

मैले देखिरहेछु मधेसबाट
हिमाल आरोहण गर्दै गरेको प्रेमको सपना
जन्माएछु ओछ्यानमा पल्टेर जँघार तरेको सपना
यसरी पृथक पृथक सपना देख्दै
निकालिरहेछु अन्तरीक्ष सम्मको यात्रा–जिन्दगीको ।

तिमी देखिरहनु भविष्यका तेजिला सपनाहरु
बस् म असफलको मृत्यु कुरिरहेको छु ।
––––––––––––––––––––––––––––––––––––––––––––––––––––––

–सन्तोष हरदम
सुनछहरी–६, फगााम रोल्पा