२०८१ जेष्ठ ५

“साझा प्रयास समूह”द्वारा १७ अक्सिजन सिलिण्डर वितरण, पुनः २५ सिलिण्डर भर्न पठाइयो

रोल्पा, ‘परिवर्तनका लागि साझा प्रयास समूह’ सुलिचौरले रोल्पा जिल्लामा १७ वटा अक्सिजन सिलिण्डर स्वास्थ्यकर्मीहरुलाई वितरण गरेको छ । १७ वटा अक्सिजन सिलिण्डर मध्ये ५ वटा सुनिलस्मृति गाउँपालिकाद्वारा स्थापित खुंग्री आइसोलेसन केन्द्र र बाँकी १२ वटा जिल्ला जनस्वास्थ्य कार्यालय रेउघा रोल्पालाई समूहका सदस्य फत्तेप्रचण्ड घर्तीमगरले हस्तान्तरण गर्नुभएको हो ।
यसै बीच सहूहले पुनः १८ वटा ठूला र ७ वटा साना गरी २५ वटा सिलिण्डर संकलन गरी अक्सिजन भर्नको लागि आजै नेपालगञ्ज पठाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट रोल्पामा पनि थुप्रै बिरामीहरु बढेको र जिल्लामा अक्सिजनको अभाव भए पछि आफ्नो दायित्व महसुस गर्दै अक्सिजनको सिलिण्डर हस्तान्तरण गरेको ‘साझा प्रयास समूह सुलिचौर’ले बताएको छ ।
रोल्पामा अक्सिजनको अभाव हुन नदिन सम्पूर्ण पक्ष तथा तहतप्कासँग हातेमालो गर्दै अगाडि बढेको साझा प्रयास समूहका संयोजक भुपनारायण घर्तीमगरले बताउनुभयो । संयोजक घर्तीमगरका अनुसार अक्सिजन व्यवस्थापनमा रोल्पाबाट देश तथा प्रदेशमा रहनु भएका विभिन्न व्यक्तित्वहरुले आर्थिक सहयोग गरिरहेका छन् । साझा पवित्र अभियानमा सक्दो सहयोग उपलब्ध गराउनुहुन सम्पूर्ण रोल्पाली दाजुभाइ तथा दिदीबहिनीहरुसँग आव्हान गर्दै घर्तीमगरले आफूहरुलाई प्राप्त भएका सहयोग रकमको एक–एक हिसाब पारदर्शीताका साथ सार्वजनिक गर्ने प्रतिबद्धतासमेत गर्नुभयो ।
अक्सिजन आपूर्तिको लागि प्रशासनिक कार्यमा सहयोग पु¥याउनुहुने प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख तथा आर्थिक व्यवस्थापनमा सहयोग गर्ने ‘रोल्पाका लागि रोल्पाली’ समूह र अन्य सहयोगी दाताहरुप्रति समूहले आभार व्यक्त गरेको छ ।  यसका अतिरिक्त आपूर्तिमा सकारात्मक सहयोग एवं सद्भाव प्रदान गर्ने पत्रकार मानसिंह वि.क., व्यवसायी श्री ज्ञानबहादुर ओली, नेपालगञ्ज स्थित ‘हो अक्सिजन प्लान्ट’ र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य श्री कृष्णप्रसाद श्रेष्ठ लगायतका व्यक्तिहरुप्रति पनि धन्यवाद व्यक्त गर्दै निरन्तर सहयोगको पनि अपेक्षा गरिएको समूहका सदस्य बालकृष्ण सुबेदीले बताउनुभयो ।
साझा प्रयास समूहका सदस्यहरुले विभिन्न जिम्मेवारी सम्हाल्नु भएको छ । जसमध्ये बालकृष्ण सुबेदीले अक्सिजन व्यवस्थापनका निम्ति जिल्लादेखि नेपालगञ्जसम्म समन्वय गर्ने, मिलन रोकामगरले यातायात व्यवस्थापन गर्ने, प्रेमबहादुर घर्तीमगरले अक्सिजनको सिलिण्डर उपलब्ध गराउने, फत्तेप्रचण्ड घर्तीमगरले जिल्ला नजस्वास्थ्य कार्यालयलाई अक्सिजन हस्तान्तरण तथा खाली सिलिण्डर व्यवस्थापन गर्ने जिम्मेवारी ग्रहण गर्नुभएको छ । यसैगरी समूहका सदस्य जीवराज घर्तीमगरले आर्थिक व्यवस्थापनको जिम्मेवारी लिनु भएको छ भने संयोजक भुपनारायण घर्तीमगरले चन्दा सहयोग संकलनमा समन्वयकारीको भूमिका निर्वाह गर्नुभएको साझा प्रयास समूह सुलिचौरले जानकारी दिएको छ ।
शुद्ध सामाजिक सेवाको उद्देश्य राख्दै गठित गैर–राजनीतिक एवं गैर–नाफामूलक यस साझा प्रयास समूहले सुनिलस्मृति गाउँपालिका वडा नं. ४ मा रहेका तीन घर परिवारलाई खाद्यान्न समेत वितरण गरेको छ । यसभन्दा पहिले समूहले सरसफाई तथा सचेतना मूलक कार्यक्रम लगायत विभिन्न सामाजिक कार्यहरु सम्पन्न गर्दै आइरहेको छ ।