२०८१ जेष्ठ ५

कविता – ‘वाद’

बाबाको वाद
आमाको वाद
दाजुको वाद
भाउजुको वाद
घरभित्र अन्तरवाद
तर, सबैको जिन्दावाद !

बाबा बोल्दा दाजुको मुहार पूर्वपट्टी
आमा बोल्दा भाउजुको नजर पश्चिमपट्टी
आफ्नै दिशा, आफ्नै पट्टी
आफ्नै विचार, आफ्नै वाद
तर, सबैको जिन्दावाद !

वर्षाको च्याउ उम्रिए जस्तै उम्रिएका वाद
एउटै घरमा मस्तै वाद
व्यक्तिवाद, नातावाद, कृपावाद, अधिनायकवाद
वादै वाद, वादै वाद, एक अर्कामा प्रतिवाद
तर, सबैको जिन्दावाद !

आफसोच !
बथानद्वारा निर्मला पन्तहरु बलात्कृत हुँदा
गरिबी र अभावमा जनता पिरोलिरहँदा,
महंगी र बेरोजगारको भुमरीमा जनता तड्पिरहँदा
राष्ट्रियताको अभावमा सुस्ता र कालापानी छट्पटाइरहँदा
मुख दर्शक बन्नेहरु
अब, सबैको मूर्दावाद !

समृद्ध नेपालको सपना बाँड्नेहरु
सुखी नेपालीका सपना बाँड्नेहरु
आर्थिक समृद्धिका सपना बाँड्नेहरु
राष्ट्रियताभन्दा आपसी भागबण्डा
पद, प्रतिष्ठा र कुर्सीका लागि लड्नेहरु,
अब, सबैको मूर्दावाद !

खै ? साम्यवाद !
खै ? समाजवाद !
खै ? जनताको जनवाद !
खै ? मानवतावाद !
खै ? भावनात्मक एकतावाद !
खै ? राष्ट्रिय एकतावाद !
अनि मात्र,
हाम्रो नेपालको जिन्दावाद !
हामी सबैको जिन्दावाद !
हामी नेपालीको जिन्दावाद !
जिन्दावाद ! जिन्दावाद !! जिन्दावाद !!!
– श्याम लेकाली
शिक्षक, श्री जनज्योति मा.वि., गजुलकोट, रोल्पा