२०८१ जेष्ठ ५

वर्षमान उडे थाइल्याण्डमा, टाईगर ढलिरहे घरको कुनातिर

सुगम सरोवर, रोल्पा/ माओवदी केन्द्रका नेता एवं पूर्वमन्त्री वर्षमान पुन ( अनन्त ) आज उपचारको लागि भन्दै थाईल्याण्डको बैङ्कक् उडेका छन्।केहिदिन यता अस्वस्थ भएपछि उनलाई नेपालमै उपचार पश्चात थप उपचारको लागि भन्दै थाइल्याण्ड लगिएको हो। नेता पुन तत्कालिन जनयुद्वका एक डिपुटि कमाण्डर समेत हुन्।
उपचारको लागि वर्षमान थाइल्याण्ड गएकै दिन सुर्खेतका एक कमाण्डर भने घरको आगनमा गर्लाम्म ढलिरहेका थिए ।चारैतिरबाट काठले बारिएको सानो झुपडि, घर छेउमा ढल्नै आटेको गोठ, आगनसंगै जोडिएको सानो खेतमा लटरम्म झुलिरहेका धानहरु,अनि आगन छेउमै रहेको धारामा पानी भर्न जादा वेवारिसे अवस्थामा ढलिरहेका कमरेड टाईगर । कमरेड टाईगर अर्थात जनयुद्वका एक चर्चित कुशल कमाण्डर बिर्खलाल बुढा उर्फ टाईगर।
<span;>२०५२ साल फागुन १ गतेदेखि तत्कालिन माओवादीले सशस्त्र जनयुद्वको संघषोष गर्यो। त्यस लगत्तै मुलुककै अत्यन्तै बिकट जिल्ला  जुम्लाबाट माओवादीको जनयुद्वमा हाम फालेका कमरेड टाईगर जनयुद्वभर जनसेनाको भुमिकामा रहेर रगत पसिना बगाईरहे।।जनसेनाको संरचना अन्तर्गत विभिन्न तह हुँदै बटालियन कमाण्डर सम्मको तहमा पुगेका कमरेड टाईगरको आज शरिरभरि १०४ वटा छर्राहरु बाकि छन्, दुई खुट्टा लाग्दैन, दाहिने हात चल्दैन, बोलि राम्रोसंग आउँदैन अनि शरीर दुख्ने र सुन्निने भैरहन्छ।
जुम्ला, लमहि, मसुरिया, पाण्डौन, खारा लगायत जनयुद्वका चर्चित मोर्चाहरुको एसल्ट कमाण्ड सम्हालेका कमरेड टाईगर करिब ५ वटा मोर्चाहरुमा घाइते हुन पुगे । स्वैच्छिक अवकाश पश्चात सुर्खेतको दशरतपुरमा बसिरहेका उनको श्रिमति पनि घाइते हुन् उनको पनि टाउकोमा रहेको छर्राहरु निकाल्न नपाउदा बेलाबेलामा मानसिक समस्या देखिने गरेको छ ।
वर्गीय समनताको सुनौलो सपना देख्दै जनयुद्वको आधिहुरिमा हाम फालेका कमरेड टाईगर शान्तिप्रकिया पश्चात आफ्नो घाईते शरिर बोकेर उपचारको निमित्त कहाँ सम्म गयनन् होला,कुन कुन नेता कमाण्डरहरुलाई हात जोरेनन् होला,कुन कुन संघ संस्थासंग अनुनय विनय गरेनन् होला तर उनको सब प्रयास असफल भयो । कमरेड टाईगर सम्झिन्छन् केहि वर्ष अघिमात्र उनी आफ्ना नेताहरुलाई भेत्न काठमाण्डौ छिरे,हिजोका आफ्नै कमाण्डर एवं हालका उपराष्ट्रपति रहेका नन्दकिशोर पुन ( पासाङ्) लाई हजार प्रयास गर्दा पनि उनले भेत्ने मौका पाएनन्, गाउँबाट लगेको खर्च सिद्धिएपछि पशुपति मन्दिरमा मागेर खाई सडकमा सुतेर पर्खिदा पनि भेट्न पाएनन्, पासाङ्लाई ।
विगतलाई सम्झिँदा आज आँखाभरि आसु बनाई भक्कानिएर बोल्नै सक्दैनन्, कमरेड टाइगर‌‌ । आज उपचारको लागि पैसा त परको कुरा राज्यबाट पाइरहेका भत्ता समेत कटौटी भएको छ उनको त्यो पनि उनकै पार्टी सरकारमा रहेको समयमा ।

हिजो जनयुद्वमा एउटै सपना बोकेर युद्वमासंगै लडेका दुई कमाण्डर हुन् वर्षमान र टाईगर।फरक यति हो कसैको भुमिका बढी भयो होला अनि कसैको अलिकति कम तर कमरेड टाईगरले जस्तै बढि रगत बगाउने कमाण्डरहरु कम छन् जनयुद्वलाई फर्केर हेर्ने हो भने।।
जनयुद्वले मुलुकमा केहि राजनितिक उपलब्धिहरु निश्चय स्थापित गर्यो तर हुनेखाने र गरिखाने विचको भिन्नता आज पनि उस्तै भयन र ?
यदि कमरेड टाईगरसंग पनि आज उपचारको लागि पैसा भैदिएको भय थाइल्याण्ड उड्थे होला नि, साझ बिहान आगनमा ढलिरहेका वुवालाई हेरेर रोइरहने १३ वर्षिया छोरिको पनि मन खुसि हुन्थ्यो होला नि है??तर विडम्वना यो कस्तो जनयुद्व लडियछ, कस्तो गणतन्त्र ल्याईएछ, जहाँ लडाउनेहरु मात्र बाच्न पाउने अनि लड्नेहरु ढलिरहने…..ढलिरहने..

कमरेड टाईगरको अत्यन्तै नाजुक अवस्था देखेपछि मनले मानेन अनि यति लेखेको छु, लेख्नुपर्ने धेरै छन् । कुनैप्रति राजनितिक पूर्वाग्रह थियन, छैन र हुनेछैन । दुबै कमाण्डर कमरेडहरुलाई शीघ्र स्वास्थ्यलाभको कामना ।