२०८१ बैशाख २३

कविता – माहिली

चुलोचौका होइन माहिली सभा सम्मेलन धाउँनु पर्छ
घाँस दाउरा होइन माहिली स्टेजमा गाउँनु पर्छ
सुन्दरी भन्दा माहिली सुरक्षित बन्न सिक
पिछडिएका महिला हामी सचेत हौं भन्न सिक

पुरुष प्रधान देशमा माहिली आफ्नो पकड जमाउँ अब
नारी उत्थान गर्न माहिली सङगीका हात समाउँ अब
महिला पुरुष बराबरी एउटै हुन्छ अधिकार
दुवैको संयोगले माहिली बन्छ जीवनको आधार

साङगठनिक बन आजै देशको इज्जत राख्न सक्छौ
क्षमता तिम्रो कम छैन संसार तिमी हाक्न सक्छौ
युग बदल्ने सामथ्र्य तिम्रो आफ्नो इज्जत बचाउँ माहिली
आफ्नो देशको मानचित्र छातीभित्र सजाउँ माहिली

अवसर खोज्न माहिली अब तिमी जुट्नु पर्छ
अधिकार पाएनौं भने अब तिमी लुट्नु पर्छ
आधा आकाश आधा धर्ती कोही छैन तलमाथि
मोर्चाबन्दी बन माहिली हुनुपर्छ महिला मुक्ति ।