२०८१ बैशाख २३

सुलिचौर स्वास्थ्य केन्द्र र मेरो अनुभूति —

  • ज्याेति घर्तीमगर,

राेल्पा । बिहानै उज्यालो नहुँदै मिस कल आयो। फोन गरेको, नाताले मेरी फुपू पर्ने उमेरले सानी भएको हुँदा उनी मलाई दिदी भन्छिन् । उनै बिरामी भएको खबर उनकी माईजुले बताउनु भयो। हतार हतार अध्यारोमा दुगुर्दै गएँ। लडेर झण्डै घाईते भएँ। फोन बिग्र्यो पनि।हुकुम बाजेलाई फोन गरें । परशु सुनार दाईको गाडी ब्यबस्था गरेर सुलिचौर स्वास्थ्य केन्द्रमा बिरामीलाई पुर्याएँ । जीबराज घर्तिमगर बाजेलाई फोन गरेँ ,फत्ते प्रचण्ड घर्तिमगर अंकललाई खबर गरेँ र भुपनारायण घर्तिमगर बाजेलाई पनि जानकारी गराएँ।

सुलिचौर स्वास्थ केन्द्रका डाक्टर साहेब पनि समयमै आउनु भयो। सक्दो चेक जाँच गर्नु भयो। तर सामान्य परीक्षण पनि प्राईबेट क्लिनिकमा पठाउनु पर्ने अबस्था रहेछ । ब्यबस्थापन यति अस्तब्यस्त कि स्वास्थ्यकर्मी डटपेन भित्रको रिफीलले लेख्दै हुनुहुन्थ्यो। लेख्न असजिलो भयो अनि मैले डटपेन दिएँ। मैले सुलिचौर स्वास्थ केन्द्र पूर्वी रोल्पाकै ठूलो स्वास्थ केन्द्र हो। MBBS डाक्टर पनि हुनुहुन्छ भनेर बिरामी लिएर गएकी थिएँ । तर डाक्टर र भवन मात्र भएर के गर्नु र ? ब्यबस्थापन अस्तब्यस्त भए पछि । सामान्य परीक्षणका उपकरण छैनन्। सामान्य परीक्षण गर्न निजी क्लिनिक पठाउनु भन्दा ब्यबस्थापनले उपकरण किनेर /जोहो गरेर न्यूनतम शुल्क लगाए हुन्थ्यो । मान्छे राम्रो सरकारी स्वास्थ्य केन्द्र भनेर जान्छन्। तर त्यहाँको कमजोर ब्यबस्थापनले निराश हुनु पर्छ । आज म पनि निराश भएँ।

उक्त स्वास्थ्य केन्द्रसँग मेरो भावनात्मक नाता छ। उक्त स्वास्थ्य केन्द्रको जमिन मेरो स्व• जिजु बाजे मुखिया नर बहादुर घर्तिमगरज्यूले दान गर्नु भएको हो । अस्पताल बिस्तार गर्न हाम्रो परिवारले थप जग्गा दान दिने लिखित प्रतिबद्धता जनाई सकेको छ। कुराकै सन्दर्भमा तपाईंहरू र तपाईंहरूको संस्थाले सहयोग गर्नु पर्यो भनेर डाक्टर साहेबले ठट्टा पनि गर्नु भयो। हो हामी सक्दो गरेका छौं र गर्ने पनि छौं। मैले स्वयंसेवक गर्ने संस्था परिवर्तनका लागि साझा प्रयास समूहले उक्त स्वास्थ केन्द्रको सरसफाई गरेको थियो। म पनि सकृय रूपमा सहभागी थिएँ। उक्त समूहको सकृय समन्वयमा २ वटा अक्सिजन कन्सन्ट्रेटर पनि दिएको थियो। मलाई विश्वास छ, हाम्रो परिवार, मैले स्वयंसेवक गर्ने संस्था र म संलग्न संस्था लगायत सहयोगी मनहरूले अवश्य सक्दो सहयोग गर्ने छौं।

मेरो सवाल के हो भने, उक्त स्वास्थ केन्द्रको ब्यबस्थापन समिति होला ? स्थानीय निकायले पनि देखेको होला? के के सुधार र ब्यबस्थापन गर्न आवश्यक छ? अवश्य अवगत होला! तर त्यहाँको अबस्था हेर्दा त्यो देखिँदैन। जो कोही पनि गएर हेर्न सक्नु हुनेछ। जो मान्छेहरू बिरामी लिएर आउछन्, ती निराश हुनु पर्ने स्थिति छ।संयोगले मैले चिनेको क्लिनिकवाला हुनुहुन्थ्यो। १० प्रतिशत छुट पनि पाएँ। हतार हतार गएकोले मसँग पुरा पैसा थिएन। फत्ते प्रचण्ड घर्तिमगर अंकल सुरज घर्तिमगर बाजे कहाँबाट रकम व्यबस्था गरेर ल्याईदिनु भयो र क्लिनिकको बिल पनि तिरेँ।मैले त मान्छेहरू चिनेकी थिएँ।आफन्तिहरू हुनुहुन्थ्यो। सबैले भनेको समयमा सहयोग गर्नु भयो।सबै जनाले मैले जति सहयोग पाउँदैनन् या चाहेर पनि आफन्तिहरूले सहयोग गर्न सक्दैनन्। ती मानिसहरूलाई कति असहज हुन्छ होला ? गाउँ-गाउँबाट आउने बिरामी र उनका आफन्त परिवारहरूलाई के हुन्छ होला ? के ब्यबस्थापन समिति, स्थानीय निकाय र स्थानीय समाजसेवीहरूले चाहेको खण्डमा सुधार गर्न सकिँदैन र ? के सुधार सम्भव छैन र ?

यसर्थ तत्काल ब्यबस्थापन समितिले कदम चालोस्।स्थानीय निकायको ध्यानाकर्षण होस्।स्थानीय संघ संस्था र समाजसेवीहरूको नजर पुगोस्। बुद्धिजीवी पत्रकार तथा सचेत नागरिकहरूको ध्यान जाओस्।अभाव तथा अब्यबस्थापनका बीच पनि सक्दो सेवा दिईरहनु भएका डाक्टर लगायत सबै स्टाफहरूलाई धन्यवाद ज्ञापन गर्दै सुधारका निम्ति सरोकारवाला सम्बन्धित सबैमा अनुरोध गर्दछु।