२०८१ जेष्ठ ५

सुलिचौर–रुइनिबाङ बजार व्यवस्थित गर्न प्रतिबद्ध छौंः गा.पा.अध्यक्ष बुढाथोकी

सुलिचौर राेल्पा । सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले सुलिचौर–रुइनिबाङ बजार सफा, सुन्दर र व्यवस्थित बनाउने बताउनु भएको छ । भद्रगोल र दुर्गन्धरहित बजार निर्माण गर्ने आफ्नो सपना भएको भन्दै अध्यक्ष बुढाथोकीले त्यसको निम्ति सम्पूर्ण सरोकारवालाहरुले सहयोग गर्नु पर्ने बताउनु भयो । सुनिलस्मृति गाउँपालिका, सुलिचौरको आयोजनामा आज भएको स्थानीय उद्योग, व्यवसायी, घरधनी, सवारी धनी तथा युवा क्लव लगायतका सरोकारवालाहरुसँगको छलफलमा अध्यक्ष बुढाथोकीले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

‘बजार व्यवस्थापन, फोहोर व्यवस्थापन तथा बजारमा जाथाभावी हुने सवारी पार्किङको पूर्ण व्यवस्थापन हुँदैछ । त्यसको निम्ति स्थानीय सरकारले नीति निर्माण गरिसकेको छ ।’ अध्यक्ष बुढाथोकीले भन्नुभयो –‘उक्त नीतिलाई लागू गर्न मैले जस्तोसुकै चुनौतीको सामना गर्न पनि तयार छु । नीति उल्लंघन गर्ने जो कोहीलाई कानूनी कारवाही हुन्छ । त्यसको लागि सम्पूर्ण सरोकारवालाहरुले आजैदेखि सचेत रही एउटा सभ्य नागरिकको भूमिका निर्वाह गरी मलाई सहयोग गर्न अनुरोध गर्दछु ।’ अध्यक्ष बुढाथोकीले अगाडि थप्नुहुन्छ, –‘हामीले डम्पिङ साइटको लागि दुई ठाउँमा अवलोकन गरेका छौं । उक्त ठाउँ निश्चित प्रायः भैसकेको छ ।

त्यसैले सुलिचौर र रुइनिबाङ बजारबाट उत्पन्न हुने फोहोरहरु त्यही डम्पिङ साइडमा व्यवस्थिति गर्दैछौं ।’ बस पार्कलाई पनि थप व्यवस्थित गर्न आफ्नो ध्यान केन्द्रित भएको बताउँदै अध्यक्ष बुढाथोकीले सहभागीहरुको सकारात्मक सुझावसहितको प्रश्नहरुले आफूलाई उर्जा पैदा हुनुका साथै थप जिम्मेबार बनाएको बताउनु भयो । सहभागी सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै अध्यक्ष बढाथोकीले फरक प्रशंगमा भन्नुभयो –‘हामीले गाउँपालिकाको हरेक कार्यक्रममा जंक फुड र खादालाई पूर्ण रुपमा निषेध गरिसकेका छौं । त्यसको सट्टा हामीले प्राकृतिक फूल वा कुनै विरुवाको पातलाई मालाको आकार दिएर प्रयोग गर्ने निर्णय भएको छ । सक्नुहुन्छ भने तपाईंहरुले पनि त्यसको अनुसरण गर्नुहोस्, त्यसले हामीलाई कुनै पनि कोणबाट फाइदा गर्दैन ।’ यसैगरी गाउँपालिकाको उपाध्यक्ष मीना थापाले बजारलाई व्यवस्थित गर्न आफूहरु सदैब तयार रहेको भन्दै स्थानीय व्यापारीहरुलाई बढी प्रतिबद्ध हुन आग्रह गर्नुभयो । सुलिचौर बसपार्क जाने सडक मर्मतको लागि आफूहरुले पहल गरिरहेको जानकारी गराउँदै उपाध्यक्ष थापाले गाउँका मान्छे बजार आउँदा सरसफाई सम्बन्धी ज्ञान सिकेर जान सक्ने बनाउन सबै लाग्नु पर्ने धारणा सार्वजनिक गर्नुभएको थियो । कार्यक्रमलाई सहजीकरण गर्दै सुनिलस्मृति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले स्वस्थ र सफा वातावरणमा बस्न पाउनु हरेक नागरिकको अधिकार भएकोले स्थानीय सरकारले त्यसलाई हृदयङ्गम गरेको बताउनु भयो । उहाँले नागरिकले प्राप्त गर्ने हरेक हक अधिकारको लागि गाउँपालिका सदैब खुला, स्पष्ट र प्रतिबद्ध रहेको समेत बताउनु भयो । घुम्ती व्यापारलाई पूर्ण रुपमा निषेध गर्नुपर्ने, दर्ता नभएका व्यवसायहरुले तत्काल सम्बन्धित ठाउँमा व्यापार दर्ता गर्नुपर्ने, बजारका खानेपानीपाइपको व्यवस्थापन हुनुपर्ने, बिग्रेका बजारका सडकहरुलाई यथाशीघ्र मर्मत गर्नुपर्ने, जथाभावी सवारी पार्किङ र सडकसम्म सामान राख्ने जस्ता गतिविधिलाई बन्द गर्नुपर्ने स्थानीय सरकारको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा रोल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष मिलन रोका, स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरु क्रमशः शालिकराम सुबेदी, खगेन्द्रकुमार विष्ट, अमृत घर्तीक्षेत्री, आकाश गिरी, ओवीलाल केसी, भिमा घर्तीमगर, निरज घर्तीमगर लगायतले स्थानीय सरकारलाई ध्यानाकर्षण गराउनु भएको थियो ।