२०८१ जेष्ठ ५

नरबहादुर स्मृतिको उदाहरणीय कार्य : एकल महिलालाई घर हस्तान्तरण

मिझिङ, सुनिलस्मृति गाउँपालिका वडा नं. ३, मिझिङ, उपल्लोथर रोल्पा निवासी श्रमिक समुदायकी एकल महिला दुङ्सी परियारको निकै जीर्ण अवस्थामा रहेको घरलाई पुनः निर्माण गरी हस्तान्तरण गरिएको छ । नरबहादुर स्मृति ग्रामीण सेवा संस्था, सुनिलस्मृति–४, सुलिचौर, रोल्पाले आज एक कार्यक्रमको आयोजना गरी घर हस्तान्तरण गरेको हो । उक्त घर संस्थाकै समन्वय र सहयोगमा पुनः निर्माण भएको हो ।गतवर्ष कोरोनाको महामारीको बेला साझा प्रयास समूहको तर्फबाट राहत वितरण गर्न जाँदा समूहका संयोजक तथा संस्थाका संरक्षक भुपनारायण घर्तीमगरले उक्त घर निकै जीर्ण अवस्थामा देखेपछि पुन: निर्माण गरिदिने योजना साथीहरूलाई सुनाउनु भएको संस्थाले सार्वजनिक गरेको छ । संस्थाकै अनुसार उहाँ (भुपनारायण घर्तीमगर)को योजना अनुसार घर निर्माण भएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले उदाहरणीय तथा अनुकरणीय कार्य गरेको भन्दै संस्थाको प्रशंसासहित उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । संस्थाले स्थापनका कालदेखि नै सामाजिक सेवामा तीव्र रुपले लागेको र आगामी दिनमा पनि निरन्तरताको आशा गर्दै वक्ताहरुले संस्थाको सामाजिक काममा आफूहरुले सक्ने सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । घर हस्तान्तरण कार्यक्रममा स्थानीय ३ नं. वडाका का.वा. वडाअध्यक्ष गिरबहादुर विष्ट, वडा सदस्य तेजकुमारी विष्ट, समाजसेवीहरु क्रमशः बमबहादुर पुन, दिउवीर विष्ट र तिलबहादुर ओली, चन्द्रप्रभा मा.वि.का अध्यक्ष ठगेन्द्रप्रसाद के.सी., बुद्धिजवीद्वय ओमप्रकाश विष्ट र प्रतिभा सुनार लगायतले बोल्नुभएको थियो भने स्थानीय राजनीतिक दल, समाजसेवी, संघसंस्थाका प्रमुख एवं प्रतिनिधिलगायतको सहभागीता रहेको थियो ।घरको साचो ग्रहण गर्दै श्रमिक समुदायकी एकल महिला दुङ्सी परियारले दुई हात जोड्दै खुशीका साथ संस्थालाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो । “म विधुवा महिलाको एकदमै नाजुक अवस्था भएको घर निर्माण गरि आज हस्तान्तरण गर्नुभएकोमा संस्थाका सम्पूर्णलाई धन्यवाद छ ।” परियारले भन्नुभयो -“धेरै बोल्न जान्दिनँ, म दु:खीलाई हेर्नुभयो तपाईंहरु सबैको भलो होस्।”
संस्थाको अध्यक्ष सुरज घर्तीमगरको अध्यक्षता तथा महासचिव फत्तेप्रचण्ड घर्तीमगरको सञ्चालनमा भएको घर हस्तान्तरण कार्यक्रममा सहभागी अतिथिहरुलाई संस्थाका सदस्य होमबहादुर विष्टले स्वागत गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष जीवराज घर्तीमगरले घर निर्माणको क्रममा संकलन भएको आर्थिक सहयोग र खर्च भएको विवरण सार्वजनिक गर्नुभएको थियो । उहाँका अनुसार उक्त घर निर्माणको लागि ३ लाख २ हजार १ सय २७ रुपैयाँ २० पैसा संकलन भएको थियो भने २ लाख ८८ हजार ७५ रुपैयाँ खर्च भएको छ । घर निर्माणको लागि आर्थिक सहयोग गर्ने सम्पूर्ण साहयोगीहरुलाई नरबहादुर स्मृति ग्रामीण सेवा संस्थाले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ ।
विस्तृत रुपमा घर निर्माणको आय व्यय हेर्नुहोस्…